Banijya News

नेविसङ्घको तदर्थ समितिले ६ महिना बितिसक्दा पनि पाएन पूर्णता

1
1.1K Shares

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ समितिले ६ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

१ फागुन २०७६ मा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

२०७३ साउनमा सम्पन्न सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो ।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन् ।

सङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाउँछन् ।

सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।

सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी सङ्गठन यो अवस्थामा आउनु दुःखद् भएको बताए ।

सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउँछन् ।

सङ्घ पूर्व कार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढङ्गले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ ।

महामन्त्री भट्टराईले पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको बताए । समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उनको भनाइ छ । रासस

1

Scroll to Top