श्रावण २१, काठमाडौं ।
सरकारले भदौ १ गतेदेखि हवाई उडान सञ्चालन गर्ने निर्णय गरेसंगै स्वदेशी र विदेशी गरी १२ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेका छन् । नेपालका दुई सहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।
अन्तर्राष्ट्रिय एयरलाइन्सले सुरुमा एक साताको उडानका लागि निवेदन दिएका छन् । नेपाल उडान भर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दो एयरले सातामा १५, मलेसियन एयरले ५ र एयर अरेबियाले ५ उडान भर्ने प्रस्ताव गरेको छ । यसैगरी फ्लाई दुबई, सलाम एयर, इन्डिगोले हप्तामा ७÷७ वटा, टर्कीले ६ वटा, जजिराले २ वटा, एयर चाइना र चाइना साउदर्नले हप्तामा १÷ १ वटा मात्रै उडान भर्न अनुमति लिएका छन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका भने तय भइसकेको छैन । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ ।
प्राधिकरणका अनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, दुबईमा सात, मुम्बईमा सात, दोहामा सात, क्वालालम्पुरमा सातवटा उडान भर्ने भएको छ । त्यसरी नै बैंलोरमा तीन, तथा चीनको ग्वाङ्जाओमा तीन, बैंकक हङकङ र नारितामा ३÷३ वटा उडान भर्नेगरी प्रस्ताव गरेको छ ।
हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ ।
हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् ।
चैत ११ चैतबाट सुरु भएको लकडाउन पछि व्यावसायिक हवाई उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै सरकारले उडानको स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले नेपालमा व्यावसायिक उडान भर्न पाउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान भर्न चाहने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित व्यावसायिक उडान सञ्चालन गर्नुपर्ने हुन्छ । यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको गन्तव्य अनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ ।
सरकारल नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ ।
आन्तरिक उडानका लागि बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री एयरलाइन्सको ८ तथा सीता, समिट र सीम्रिक एयरले २ वटा उडान गर्ने अनुमति पाएका छन् । तर अहिले विभिन्न ठाउँमा कोरोन संक्रमितको संख्या बढ्दै गएकाले आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।


