समाजमा कोरोना संक्रमण बढ्दै गएपछि गायक निशान भट्टराईले विवाह गरेका छन् । २७ साउनमा (मंगलबार) काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका हुन् ।
मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए । मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको ‘लाउर जाने रेल’मा मोडलिङ समेत गरेकी छिन् । उनीहरु लामो समयदेखि रिलेसनमा रहेको बताईएको छ ।
पछिल्लो समय चर्चामा रहेको गीत ’के माया लाग्छ र’ मा स्वर दिएका निशान गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए ।
उनले समाजिक संजालमा आफूले विवाह गरेको भन्दै श्रीमती सहितको फोटो राखेका छन् । उनले आज फेसबूकमा जीवनसाथीसँगको तस्वीरसहित एक पोस्ट राख्दै लेखेका छन्, ’यति धेरै माया र आशीर्वाद हामीले पाएकोमा धेरै नै खुशी छौं ।
यो अहिलेको जटिल समयका कारण हामीले कानूनी विवाह गर्ने निर्णयलाई उचित सम्झियौं र यसलाई सफल बनायौं। हजुरहरुको माया र आशीर्वाद यसरी नै सधैं कायम रहिरहोस् ।’


