काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेटमा थप ६ संक्रमितको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा एक महिला र एक पुरुष गरी २ जना, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पताल र चितवनको भरतपुर अस्पतालमा एक(एक जना (पुरुष) को मृत्यु भएको बताएको छ ।
यसैगरी मोरङको विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबाररै साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको हो ।
सुनसरीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान(१५ का ६७ वर्षीय संक्रमितको शनिवार मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई २७ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर, शनिबार दिउँसो मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दियो ।
प्रतिष्ठानका अनुसार संक्रमितको स्वास्थ्य गम्भीर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरिए पनि बचाउन सकिएन । धरानमा प्लाज्मा थेरापी गरिएको यो दोस्रो घटना हो । पहिलो पटक प्लाज्मा दिएका संक्रमित धरानमै उपचाररत छन् ।


