काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन् । लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का गरिदिन पत्र लेखेपछि नेप्सेले आइतबारबाटै यो संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त र सर्लाहीको हरिवन केन्द्रीय कार्यालय रहेको ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने भएका हुन् । यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
पछिल्लो समय राष्ट्र बैंकले बैंकसँगै लघुवित्त संस्थाहरुलाई आपसमा गाभिन प्रोत्साहन गर्दै आएको छ । सोहीअनुसार लघुवित्त संस्थाहरु पनि आपसमा गाभिने क्रम बढेको हो ।


