असोज ११, काठमाडौं ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा २०७६ सालको पद्यमश्री साहित्य पुरस्कार सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ । त्यस्तै पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने निर्णय गरिएको छ ।
हंस उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार प्रश्रितलाई पद्यश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको बताइएको छ । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. ३ लाख छ । २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्छ ।
त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ । तर, यो वर्ष कोरोनाभाइरस महामारीको विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा प्रदान गरिने बताइएको छ ।


