Banijya News

फेरि लकडाउन नगर्न स्वास्थ्य मन्त्री सामु उद्योगीको आग्रह

1
1.1K Shares

नेपालमा फेरि लकडाउन हुने हल्ला चलेपछि व्यवसायीहरुको टोली लकडाउन नगर्न सुझावको लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेट्न पुगेको छ ।
मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको बाहिरिएपछि उद्योगी मन्त्री भेटन पुगेका हुन् ।
नेपालमा २५ हजार सक्रिय कोभिड १९ संक्रमितको संख्या पुगेमा लकडाउन गर्ने सुझाव पछि फेरि लकडाउन हुनसक्ने भन्दै व्यवसायीहरुले स्वास्थ्यमन्त्री ढकालसँग भेटवार्ता गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिले स्वास्थ्यमन्त्री ढकालसँग भेट गर्दै अब फेरि लकडाउन भएमा उद्योग व्यवसायमा धेरै ठूलो समस्या आउने धारणा राखेका थिए ।
कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारण व्यवसाय चौपट भइसकेकोले अब फेरि हुने लकडाउन थेग्न नसकिने व्यवसायीले मन्त्रीलाई अवगत गराएका थिए ।

व्यवसायीले सुरक्षा मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने तर बन्द नै गर्नु नहुने मन्त्रीसामु बताएका थिए ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग वणिजय महासंघका शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा, रेष्टुरेन्ट एण्डबार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीलगायतका व्यवसायीहरुले स्वास्थ्यमन्त्री ढकालसँग भेट गरेका हुन् ।
उनीहरुसँगको भेटमा मन्त्री ढकालले अब लकडाउन नहुने आश्वसन दिएको व्यवसायीहरुले बताएका छन् । उनले अब लकडाउन भएमा अर्थतन्त्र धेरै बिग्रिने कुरा सरकारले बुझेको व्यवसायीहरुलाई बताएका थिए ।
भेटघाटमा कोभिड संक्रमण न्युनीकरणमा निजी क्षेत्रले गरेको प्रयास र सरकारको भूमिका सम्वन्धमा समेत छलफल भएको हो । पहलका अध्यक्ष जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै लकडाउन नगर्न अनुरोध गरेका छन् ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठूला सवै खालका व्यवसाय धरासायी भएको वताउदैसमग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन आवश्यक भएको बताए । उनले अल्पकालीन तथा दीर्घकालीन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा सुझाब मन्त्रीलाई दिए ।
पहल टोलीको जिज्ञासालाई सम्वोधन गर्दै मन्त्री ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधिलाई सुचारु गर्न राष्ट्रिय व्यवसायिक पहलले लिएको जिम्मेवार व्यवसायिक अभ्यासलाई सराहना गर्दै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्वन्धित सवै निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

1

Scroll to Top