Banijya News

नेपालको वैदेशिक व्यापार २२.०७ प्रतिशतले कमी

1
1.1K Shares

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण नेपालको वैदेशिक व्यापार २२.०७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको नयाँ आँकडा अनुसार वैदेशिक व्यापार घटेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन–भदौ) मा रु. १ खर्ब ७८ अर्ब ८४ करोडको आयात भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा २२.०७ प्रतिशत कमी हो । विभागका अनुसार गत आर्थिक वर्षको वैदेशिक व्यापारमा २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार रुपैयाँ र निर्यात १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँको रहेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ पुगेको छ । उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९३ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख ४२ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ । नेपालको वैदेशिक व्यापार मूख्य रुपमा भारत र चीनसँग हुँदै आएको छ । भारत र चीनसहीत १ सय भन्दा बढी मुलुकसँग नेपालको वैदेशिक व्यापार हुने गरेको भन्सार विभागको विवरणमा उल्लेख गरिएको छ । खासगरी अर्थतन्त्रमा पूँजी निर्माण गर्ने फलाम, औद्योगिक मेसिन लगायतका वस्तुको आयात खस्किएको छ । फलामको आयात करीब २९ प्रतिशतले घटेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भदौसम्ममा रु. १४ अर्ब ३० करोडको फलाम आयात आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रु. २० अर्ब ४ करोडको आयात भएको थियो ।

कोरोना भाइरसले सिर्जना गरेको संकटका कारण देशमा निर्माणको गतिविधि सुस्ताएपछि फलामको आयात खस्किएको हो । त्यस्तै, विद्युतीय मेसिनको आयात पनि घटेको छ । भदौसम्ममा रू. १७ अर्ब ९७ करोडको विद्युतीय मेसिन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रु. १९ अर्ब १२ करोडको आयात भएको थियो । अन्य औद्योगिक मेसिनहरुको आयात पनि घटेको छ । औषधिको आयात पनि ह्वात्तै घटेको छ । अघिल्लो वर्षको साउन–भदौमा रु. ५ अर्ब ८४ करोड मूल्य बराबरका औषधि आयात भएकोमा यो वर्ष त्यो रु. ४ अर्ब ५ करोडमा सीमित भएको छ ।

1

Scroll to Top