Banijya News

टेलिकमले ल्यायो चाडपर्व लक्षित आकर्षक अफर

1
1.1K Shares

२९ असोज, काठमाण्डौ ।


नेपाल टेलिकमले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी आजदेखी लागु हुने गरी ९० दिन सम्म अटम अफर उपलब्ध गराउने भएको हो ।
यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको छ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यास डायल गर्नुपर्नेछ ।
अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। यस अन्तर्गत ५५ रुपैयाँमा युट्युब र फेसबुक अनलिमिटेड प्याकेज उपलब्ध हुनेछन् जसलाई ३ दिनसम्म चलाउन मिल्नेछ ।

यसको साथै, यी अफर खरिद गरेपश्चात् १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ।
यसअघि रु. ४० मा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी रु. १५ मा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।
अलटाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि भ्वाइस प्याक यथावत् रूपमा उपलब्ध हुनेछन्। राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि जारी रहने टेलिकमले जनाएको छ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु. १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।
यसैगरी फेस्टिभल अफरअन्तर्गत दसैं, तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम र सीडीएमए मोबाइल रिचार्जमा अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ। यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ।
त्यस्तै रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।
यसैगरी, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

1

Scroll to Top