यतिबेला जुम्लामा एकातिर चरम जाडो छ, अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन ।
विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटर लगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
प्राधिकरण जुम्लाका कार्यालय प्रमुख गौरव पाण्डेका अनुसार २२० किलोवाट क्षमताको विद्युत् घटेर ११० किलोवाटमा झरेपछि लोडसेडिङको समस्या बढेको हो । कार्यालय प्रमुख पाण्डेले हाल करीब ६ घण्टाजति मात्र विद्युत् आपूर्ति हुने गरेको बताए । उपभोक्ता नेत्र शाहीले भने २४ घण्टामा २१ घण्टा जति लोडसेडिङ हुँदै आएको गुनासो पोखे ।
राष्ट्रिय प्रसारण लाइन नजोडिएसम्म जुम्लाको विद्युत्को समस्या समाधान नहुने प्राधिकरण प्रमुख पाण्डेले जिकिर गरे । यहाँको तत्कालको समस्या समाधानका लागि भने फाइल लिएर काठमाडौं जान थालेको उनको भनाइ थियो ।
जाडोले सरकारी कार्यालय तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई काम गर्न अप्ठ्यारो पर्दै गएको छ । वर्षा र हिमपात नभए पनि कर्मचारीले कार्यालयमै आगो बालेर दैनिक सेवा प्रवाह गरिरहेका छन् । आगो बालेर भए पनि कर्मचारीले सेवाग्राहीलाई सेवा दिइरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । यद्यपि कार्यालयमा रहेका मेसिनरी सामग्री फ्याक्स, प्रिन्टर पनि चिसोले जाम हुन थालेपछि कार्यालयको काम प्रभावित हुँदै गएको जनाइएको छ ।
फिल्टर र बोतलको पानी ठप्पै रोकिएको छ । यो समयमा विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई अझ बढी समस्या हुँदै गएको चन्दननाथ नमूना मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिए ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार हाल कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने ३ लाख ८१ हजार नागरिक यसबाट प्रभावित भएका छन् । जाडोको चरम पीडामा माथिल्लो डोल्पाको धो, तराप, हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका र मुगुको कार्मारोङ गाउँपालिका र जुम्लाका पातारासी गाउँपालिकाका नागरिक रहेका छन् ।
हुम्लाको उत्तरी क्षेत्रमा नाम्खा गाउँपालिका–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी देखिन छाडेको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए । कठोर चिसोले सुरक्षाकर्मी नै असुरक्षित रहेकाले नियमित सेवाका काम गर्न समेत निकै कठिन भएको प्रहरी निरीक्षक केसीले बताए । रासस


