काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडल र गंगाप्रसाद यादवलाई शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम गण्डकी प्रदेशको प्रमुखमा सीता कुमारी पौडेल र सूदुरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादवलाई शितल निवासमा शपथ ग्रहण गराएकी हुन् ।
यस अगाडि सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई राष्ट्रपति भण्डारीले पदमुक्त गरेकिथिइन् ।
मन्त्रिपरिषद बैठकले दुबै जनालाई पदमुक्त गर्न सिफारिस गरेको थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको समय दुबै जना पूर्व माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाबाट प्रदेश प्रमुख भएकाहरुलाई हटाउँदै आएको छ । यसअघि माओवादीबाट प्रदेश प्रमुख भएका प्रदेश २ का तिलक परियारलाई पनि हटाएको थियो । उनको ठाउँमा राजेश झा अहिराजलाई नियुक्त गरिएको थियो ।


