कोभिडले आर्थिक गतिविधि ठप्प छन् । आम उपभोत्ताको दैनिक कष्टकर बन्दै गएको छ । सरकारको काम कर उठाउने मात्र होइन, करदातालाई सुविधा दिने पनि हो । तर महामारीको असर भोगिरहँदा पनि कुनै छुट र राहत नपाउँदा करदाताले पीडित त भएनै राज्यलाई तिनुपर्ने कर भने धमाधम तिरिरहेका छन् । परिमाण राजस्व भने लक्ष्यको हाराहारिमै उठेको छ । सरकारी अधिकारीले कर बुझाउने म्याद थपेको र संक्रमणदर पनि घट्दै गएकाले लक्ष्य पूरा हुने दाबी गरेका छन् ।
कोरोना नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी भएपनि कुल राजस्व परिचालन भने बढेको छ । अर्थ मन्त्रालयको अनुसार कूल राजश्व परिचालन गत आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । अर्थका अनुसार वैशाखसम्म कूल रु ७ खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । कूल राजश्वमा कर राजश्व रु ७ खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु ७ खर्ब ९७ अर्ब ३३ करोड रहेको छ ।
गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भएको छ भने गैर कर राजश्व सङ्कलनमा कमी आएको छ । कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार बिन्दुमा सङ्कलन हुने कर राजश्वमा वृद्धि भएको हो ।
शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजश्व लक्ष्यभन्दा बढी सङकलन भएको मन्त्रालयले जनाएको छ । समग्मा राजश्व सङ्कलन ९४.६ प्रतिशत रहेको छ । यस अवधिमा भन्सार बिन्दुमा सङ्कलन भएको कर राजश्व ३८.३ प्रतिशतले बढेर रु तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । यस्तै, आन्तरिकतर्फको कर राजश्व २०.५ प्रतिशतले बढेर रु तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।
मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म रु दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत आवको सोही अवधिमा तुलनामा रु एक खर्ब ४९ अर्ब ५० करोड बराबरको प्रतिवद्धता प्राप्त भएको थियो । उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता १०.९ प्रतिशत र ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९३.३ प्रतिशत रहेको छ । कूल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।
भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन । १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अब १ खर्ब ९४ अर्ब उठाउनुपर्छ । कोभिडको दोस्रो लहर चैत अन्तिम साता सुरु भएपनि आर्थिक क्रियाकलाप भने वर्षभरि नै प्रभावित भए । यसका बाबजुद ८३ प्रतिशत राजस्व उठ्नु सकारात्मक हो । महामारीले पिल्सिएका बेला समेत करदाताले खुरुखुरु कर तिरे पनि उनीहरुलाई सरकारले भने कुनै राहत दिएको छैन ।
त्यस्तै, पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कस्ल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन् । प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ ।
मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ । यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।


