पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
शुक्रबार राति नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आएको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा हेटौंडा–१५ पनेसका १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएको दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।
दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए ।


