काठमाडौँ – आगामी पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आइतबार नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सिइओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी बनाएर मुलुकमा लगानी विस्तार गर्न रणनीतिक योजना बनाइएको बताए ।
उक्त प्रयोजनका निम्ति विगतदेखि लगानी गरिरहेका लगानीकर्ता, लगानी गर्न इच्छुक र नयाँ लगानीकर्तालाई नेपालमा लगानीको वातावरणबारे आश्वस्त पार्ने योजना बनाइएको बोर्डले जनाएको छ ।यस अवधिमा नेपालमा लगानी प्रवद्र्धन गर्न थ्रीआर मोडलमा जोड दिइने बोर्डका कन्सल्टेन्ट प्रभाकर घिमिरेले जानकारी दिए । उनका अनुसार लगानी पद्र्धन गर्न ‘रीच’, ‘रीटेन’ र ‘रीगेन’ गरी ‘थ्री आर’ मोडलमा काम गरिने छ । यस मोडल भित्रै नेपालमा लगानीको इच्छा देखाएर पनि फिर्ता गएका लगानीकर्तासँग पुनः वार्ता तथा छलफल गरी लगानी फिर्ता ल्याउन प्रयास गरिने भएको छ । विगतमा अफ्रिकी मुलुक नाइजेरियाबाट ड्याङगोटे समूहले नेपालमा लगानी गर्न चाहेको थियो । तर, पछि यो समूह फिर्ता भएको छ । यो समूहसँग लगानी बोर्डले पुनः छलफल अगाडि बढाउन चाहेको सीईओ भट्टले जानकारी दिए ।
बोर्डले यो अवधिमा रु छ खर्ब बराबरको सार्वजनिक–निजी–साझेदारी परियोजना व्यवस्थापन गर्ने र लगानी बोर्डलाई यस अवधारणाको ‘उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यसमेत लिएको छ । लगानी बोर्डको क्षेत्राधिकारमा अहिले रु छ अर्बभन्दा माथिका सम्पूर्ण परियोजनाको लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन रहेको छ । ऊर्जा परियोजनामा भने २०० मेगावाटभन्दा माथिका परियोजना रहेका छन् । बोर्डले उपयुक्त परियोजनामार्फत एक लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
बोर्डले स्थापनाको १०औँ वर्ष मनाइरहेको अवस्थामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य तथा साझेदारीलाई प्राथमिकतामा राखेर रणनीतिक योजना बनाइएको जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार स्थापनाको १० वर्षको अवधिमा अहिले कूल २८ वटा परियोजना अगाडि बढेका र यी परियोजनामार्फत रु आठ खर्ब ४४ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत भइसकेको छ । लगानी बोर्डको क्षेत्राधिकारमा अहिले ६ अर्ब रुपैयाँभन्दा माथिका सम्पूर्ण परियोजनाको लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन रहेको छ । उर्जा परियोजनामा भने २ सय मेगावाटभन्दा माथिका परियोजना रहेका छन् । नेपाल सरकारले निर्देशित गरेको अवस्थामा भने बोर्डले अन्य परियोजनाको समेत व्यवस्थापन गर्छ ।
लगानीका माध्यमबाट आगामी ५ वर्षभित्र कम्तीमा १ लाख नेपाली नागरिकका लागि लगानीको ढोका खुल्ने विश्वास बोर्डको रहेको छ । लक्ष्य प्राप्तिका लागि राष्ट्रिय तथा प्रादेशिक निकायसँग निरन्तर सहकार्य तथा साझेदारी गरिने सीईओ भट्टले जानकारी दिए ।
बोर्डले अहिले ऊर्जा, उत्पादन, खनिज, पर्यटन, यातायात र सहरी विकास गरी कूल छ वटा क्षेत्रमा लगानी स्वीकृत गरेको छ । जग्गा अधिग्रहण, वन तथा वातावरणीय स्वीकृति, औद्योगिक पूर्वाधार, बढ्दो स्थानीय अपेक्षा, परियोजना सुरक्षालगायत विषय आयोजना कार्यान्वयनका चुनौती रहेको बोर्डले जनाएको छ ।


