देउसी खेल्न हिँडेका समुहलाई हेटौंडामा बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने ८ जना पैदलयात्रु घाइते भएका छन् ।
हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले शनिवार राति देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिए उक्त घटना भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक भएको दुर्घटनामा सोही ठाउँका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको हो ।
घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घटनापछि स्थानीयले बसमा आगजनी गरेका थिए । आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।


