अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा २०० गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकको चीनसँग जोडिएको तातोपानी सीमानाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।
मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । “तोकिएको लक्ष्यभन्दा २०० गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु,” उनले भने, “बाहिर तोकिएकोले मात्र पुग्दैन, राजस्व बढाउनका लागि कडाइ समेत गरिएको छ ।”
उनले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थसचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिए । चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्नेमा उनको जोड थियो । “यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्,” उनले भने, “उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्यांकन गर्नुहोस् । त्यसरी दुईवटालाई जोडेर काम अगाडि बढाऔँ ।”
तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने उनले बताए । नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुक्खा बन्दरगाहको समेत निरीक्षण गरे ।
कोरोना महामारी पछि हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय दैनिक करिब एक दर्जन मालवाहक सवारीसाधन नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । त्यस्तै, स्याउ, रबर, प्लास्टिकका जुत्ताचप्पल, ओखरलगायत मालवस्तु भित्रिने गरेका छन् ।


