केही दिनयता वित्तीय प्रणालीमा तरलता अभाव चरम बन्दै गएको छ । यस अवधिमा नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल निगम (आईओसी) लाई १४ अर्ब रुपैयाँ भुक्तानी गरेपछि थप तरलता संकट भएको जानकारहरू बताउँछन् । केही महिनायता तरलता अभावको मार खेपिरहेको वित्तीय प्रणालीबाट आयल निगमले एकैपटक ठूलो रकम झिकेपछि तरलता अभाव बढेको उनीहरूको तर्क छ ।
तेलको रकम भुक्तानी गर्न निगमले गत साउनयता बैंकमा रहेको मुद्दती निक्षेपबाट १० अर्ब रुपैयाँ झिकिसकेको छ । पछिल्लो पटक गत सोमबार मात्र आईओसीलाई १४ अर्ब रुपैयाँ भुक्तानी गरिएको आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । आउँदो मंसिर ७ (नोभेम्बर २३, २०२१) मा थप १४ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने उनले जानकारी दिए । यसअघि निगमले विभिन्न बैंकमा गरेर करिब ३० अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राखेको थियो । निरन्तर घाटा बढ्दै गएपछि सोही निक्षेप निकालेर तेलको भुक्तानी गरिरहेको छ । सोही क्रममा बिहीबारसम्म निगमको विभिन्न बैंकमा रहेका मुद्दती निक्षेपमा १६ अर्ब रुपैयाँ मात्र बाँकी छ ।
घाटा निरन्तर बढ्दै गएपछि निगमले परिपक्व अवधिअगावै मुद्दती निक्षेप झिक्न मिल्ने वातावरण बनाउन बैंकहरूलाई आग्रह गरेको थियो । तीन साताअघि निगमले बैंकर्स एसोसिएसनसँगको बैठकमा यस्तो आग्रह गरेको हो । त्यतिबेला निगमको १८ अर्ब रुपैयाँ मुद्दती खातामा थियो । त्यसयता पनि निगमले २ अर्ब रुपैयाँ निकालिसकेको छ । निगमले विभिन्न २३ बैंकमा ३ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा पैसा राखेको छ । तीमध्ये धेरै निक्षेपको तोकिएको अवधि सकिन बाँकी छ । सामान्य अवस्थामा तोकिएको अवधिअघि मुद्दती खाताबाट रकम निकाल्दा हर्जाना तिर्नुपर्छ ।
‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिले निगमले मासिक साढे ४ अर्ब रुपैयाँभन्दा बढी नोक्सान बेहोर्दै आएको छ । निगमले आईओसीबाट इन्धन आयात गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको इन्धनको मूल्यवृद्धि र बढ्दो डलर भाउका कारण निगमलाई पछिल्लो चार महिनामै करिब ९ अर्ब रुपैयाँ घाटा भइसकेको छ । यो घाटा निगमले सञ्चित नाफाबाट पूर्ति गरिरहेको छ ।
घाटा यही गतिमा बढे २/३ महिनापछि ऋण लिएर आपूर्ति गर्नुपर्ने अवस्था आउने निगमको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्ने क्रम जारी रहेकाले आपूर्ति व्यवस्थापनका लागि मुद्दती निक्षेपको रकम निकाल्नुपर्ने अवस्था आएको निगमले बताउँदै आएको छ । निगमले मासिक २५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।
सोही समयमा सबै बैंकले अप्रत्याशित रूपमा कर्जा विस्तार गरिरहे । सोही अनुपातमा स्रोत (निक्षेप) व्यवस्थापन हुन सकेन । यसरी निक्षेप संकलन र कर्जा प्रवाहबीच असन्तुलन देखिएको र यो बढ्दै गएको उनले बताए । स्रोतका अनुसार अहिले ९० प्रतिशतभन्दा बढी वाणिज्य बैंकले नयाँ कर्जा प्रवाह रोकेका छन् । पछिल्ला नयाँ निक्षेप नथपिने र पुरानो निरन्तर बाहिरिँदा तरलता संकट बढ्दो छ ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा १७ अर्ब रुपैयाँ अधिक तरलता छ । अप्ठ्यारो परेका बैंकहरूले रिपो र एसएलएफमार्फत अल्पकालीन सापटी लिइरहेका छन् । पछिल्ला सातामा वाणिज्य बैंकहरूमा निक्षेप निरन्तर घटिरहेको छ, यसअनुसार असोज मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो । गत सातासम्म आइपुग्दा यस्तो निक्षेप करिब ३१ अर्बले घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ । सोही अवधिमा बैंकहरूको कर्जा प्रवाह भने २७ अर्ब रुपैयाँ बढेको छ । कर्जा र निक्षेपबीचको अन्तर बढ्दै गएकाले बैंकहरूको कर्जा प्रवाह क्षमता भने घटिरहेको छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् ।


