बजारमा ‘दिन दुइगुण रात चौंगुण’ तरकारीको मूल्यबृद्धि भएको छ । तिहार सकिएलगत्तै तरकारी बजारमा मौसमी तरकारी पनि देखिएनन् । काउली, आलु, गोलभेँडा, प्याज र अन्य छिटो नष्ट हुने हरियार तरकारीको अभाव देखिएको छ । बजारमा हरियो तरकारीको विस्तारै प्रवेश गरेपनि दोब्बर मूल्यबृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको त बताएको । बजारमा जसरी बस्तुको मूल्य बढेको छ, त्यही अनुसारको आँकडा पनि पाउँन सकिदैन् । गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङमा छ । ब्यवहारमा दसैंअघि ७० रुपैयाँ प्रतिकिलो पाइने गोलभेँडा अहिले एक सय ७५ पुगेको छ । अन्य तरकारीमा पनि यसरी नै भाउ बढेको छ ।
वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मंगलबार असोजमा वार्षिक मुद्रास्फिति (मूल्यवृद्धि) दर ४.२४ प्रतिशत रहेको जानकारी गराएको हो । गत वर्षको असोजमा मुद्रास्फिति दर ३.७९ प्रतिशत रहेको थियो । पछिल्लो समय इन्धनमा भइरहेको मूल्यवृद्धिका कारण सबै क्षेत्रको मूल्यवृद्धि चर्को रहेका बेला राष्ट्र बैंकले समग्र मूल्यवृद्धि दर ४.२४ प्रतिशत मात्रै रहेको उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार असोज महिनासम्म खाद्य तथा पेय पदार्थ समुहको ३.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको मूल्यवृद्धि दर ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
समीक्षा महिना असोजमा घिउ तथा तेलको मूल्य चर्को वृद्धि भएको छ । गत वर्ष असोजको तुलनामा घिउ तथा तेलको मूल्यवृद्धि ३१.६८ प्रतिशतले भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै माछा तथा मासुको मूल्य ११.९३ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य १०.७१ प्रतिशत, सूर्तिजन्य वस्तु तथा गैर मदिराजन्य पेयपदार्थ उपसमूहको मूल्यवृद्धि दर क्रमशः १०.१२ र ९.६३ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार यसवर्ष काठमाडौं उपत्यकाको तुलनामा तराईमा बढी मूल्यवृद्धि रहेको उल्लेख गरेको छ ।
यस वर्ष असोजमा तराईमा ४.०१ प्रतिशत मूल्यवृद्धि दर रहेको र काठमाडौंमा ३.४८ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले उल्लेख गरेको हो । पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत वर्ष असोजमा तराईमा ४.४६ प्रतिशत, काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत रहेको थिया े।
राष्ट्र बैंकले थोकमा गत वर्षको तुलनामा मूल्यवृद्धि दर घटेको दावी गरेको छ । यस वर्ष असोजमा थोक मूद्रास्फिति दर ३.८३ प्रतिशत रहेको उल्लेख गरेको राष्ट्र बैंकले गत वर्ष सोही अवधिमा ८.२६ प्रतिशत रहेको दाबी गरेको हो ।
तरकारी व्यवसायी यसरी भाउ बढ्नुमा इन्धनको मूल्यलाई कारण मान्छन् । ढुवानी भाडा बढेपछि सामानको मूल्य स्वतः बढ्ने उनीहरुको भनाइ छ । नेपालमा विगत १९ महिनामा इन्धनको भाउ २१ पटक बढिसकेको छ । यो अवधिमा पेट्रोल ४०, डिजेल ३१ र खाना पकाउने ग्यासको भाउ दुई सय रुपैयाँ बढेको छ । पेट्रोलियम पदार्थलगायतका वस्तु भारतबाटै आयात गरेर कारोबार गरिँदै आएका छन् । अधिकांश उपभोग्य वस्तु भारतबाटै आयात भए पनि नेपालमा भारतको तुलनामा मूल्यवृद्धि दर कम रहेको राष्ट्र बैंकको भनाइ छ । गत असोजमा भारतमा ४.४८ प्रतिशत मूल्यवृद्धि दर रहेकोमा नेपालमा ४.२४ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ ।


