साताको चौथो कारोबारको दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार बजार ५.५१ अंकले वृद्धि भएर २५२४.५० अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा सामान्य वृद्धि हुँदा व्यापार, विकास बैंक, वित्त कम्पनी, जीवन बिमा र लगानी उपसूचकमा भने गिरावट भएको छ । निर्जीवन बिमा उपसूचक भने २.२१ प्रतिशतले बढेको छ ।
आज बजारमा कारोबार रकम पनि केही बढेर साढे तीन अर्बमाथि पुगेको छ । ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड ३४ लाख ८० हजारको कारोबार भएको छ । कारोबार रकममा हिमालयन डिस्टिलरी र नबिल बैंकमा आकर्षण देखिएको छ । हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख ८० हजार र नबिल बैंकको ४७ करोड ७१ लाख ८१ हजारको कारोबार हुँदा मञ्जुश्री फाइनान्सको २२ करोडको कारोबार भएको छ ।
आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबारमा हुँदा ९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ८७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । कारोबारमा आएका मध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, नबिल बैंकसँग मर्जरको चर्चा रहेको नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।
सेयर मूल्य घट्नेमा भने नारायणी विकास बैंकसहित फाइनान्स कम्पनीहरू अगाडि छन् । नारायणी विकास बैंकको सेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ ।


