डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको निर्माणाधीन औद्योगिक ग्रामको निर्माणकार्य अलपत्र परेको छ । २०७६ माघ २० गते मन्त्रिपरिषद्ले डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । सो निर्णय भएसँगै बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्रामको निर्माणकार्य सुरु गरिएको थियो ।
औद्योगिक ग्राम निर्माणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत–साधन, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण अगाडि बढाइएको हो । उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु–याउने औद्योगिक ग्राम निर्माणको उद्देश्य रहेको थियो ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६÷२०७७ मा ९२ लाख रुपियाँ निकासा आएकोमा ८३ लाख ६० हजार रुपियाँ खर्च भएको थियो । सो रकमबाट औद्योगिक ग्राम निर्माणस्थलमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचनाको निर्माण भएको थियो । त्यसपछि थप बजेट निकासा नहुँदा औद्योगिक ग्राम निर्माणकार्यलाई पूर्णता दिन नसकिएको जोरायल गाउँपालिका अध्यक्ष ओझाले बताए ।
जोरायल गाउँपालिकाको बुडरमा ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका लागि जमिन छुट्ट्याइएको छ । यसलाई विस्तार गर्न पाँच सय रोपनीसम्म जग्गा लिने तयारी गरिएको थियो । औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मौखिक रूपमा आएको भएपनि कुनैपनि काम अगाडि बढेको र्छैन् ।


