विन्ध्यवासिनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीका अनुसार वैशाख ११ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाका स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
७ लाख कित्ता शेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । साथै, बाँकी ३ लाख कित्ता शेयर आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल रहेको छ ।
स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखाबाट आवेदन दिन सकिनेछ ।त्यसैगरी, आयोजनाको कार्यस्थलबाट पनि आवेदन दिन सक्नेछन् ।
साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयलाई सेययर बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ ।


