चैतमा सकिएको पछिल्लो त्रैमासिकमा ब्याङ्कहरूले निक्षेप ब्याजदर बढाएका कारण उनीहरूले यो साता कर्जाको ब्याजदर पनि बढाइदिएका छन् । अब औसत कर्जा ब्याजदर १२–१३% पुगिसकेको ब्याङ्करहरू बताउँछन् । “तीन–तीन महिनामा मात्र आधार दर हिसाब गरेर कर्जाको ब्याजदर हेरफेर गर्नुपर्छ। त्यही क्रममा चैत मसान्तमा कर्जाका ब्याजदर बढेका छन्। अब औसतमा उक्त ब्याजदर १२–१३% पुगेको छ,“ नेपाल ब्याङ्कर्स सङ्घका पूर्वअध्यक्ष ज्ञानेन्द्रकुमार ढुङ्गानाले बताए ।
ब्याज दरका किसिम
अहिले केन्द्रीय ब्याङ्कले वाणिज्य ब्याङ्कहरूलाई दिने कर्जामा लाग्ने ब्याङ्कदर (ब्याङ्क रेट) भनिने ब्याजदर ७% छ । वाणिज्य ब्याङ्कहरूले कर्जामा लगाउने न्यूनतम ब्याजदर वा आधार दर (बेस रेट) चाहिँ ८–९% रहेको ढुङ्गाना बताउँछन् ।
निक्षेप परिचालनमा लाग्ने मूल्य, प्रशासनिक खर्च जोडेर गणना गरिने बेस रेटमा प्रिमियम थपेर विविध कर्जा ब्याजदर तोकिएका हुन्छन् । “हाल मुद्दती निक्षेप खातामा ११ प्रतिशतभन्दा धेरैसम्म ब्याज दिइएको छ,“ ढुङ्गानाले भने ।
राष्ट्रब्याङ्कको नियम के छ ?
राष्ट्रब्याङ्कको नियमअनुसार बेस रेट बढेको खण्डमा कर्जा ब्याजदर बढाउन पाइन्छ । “गएको त्रैमासिकमा ब्याङ्कहरूले निक्षेपमा ब्याज बढाएका कारण बेस रेट बढ्यो। मलाई लाग्छ १–१.५% त्यसरी बढेको छ जुन कर्जा ब्याजदरमा प्रतिबिम्बित हुन पुगेको छ,“ राष्ट्रब्याङ्कका प्रवक्ता गुणाकर भट्टले बताएका छन् । तर त्यसरी ब्याजदर बढाउँदा निक्षेपमा दिइने ब्याजदर अनि कर्जामा असुलिने ब्याज दर बीच निश्चित सीमासम्मको मात्र अन्तर हुन सक्छ ।
“स्प्रेड रेट भनिने निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीच ४.४% भन्दा धेरै अन्तर हुन पाइँदैन,“ भट्टले भने । उनले अहिले ब्याङ्कहरूले दिइरहेका ब्याजदर यही अन्तरमा नै रहेको पनि बताए ।
तरलता सङ्कटको परिणाम
महिनौँदेखि ब्याङ्कहरूमा कर्जा दिन योग्य रकम वा तरलताको सङ्कट गहिरिँदै गइरहेका कारण ब्याजदर उकालो लागिरहेको बताइन्छ । तरलता उपलब्ध गराउन अहिले पनि केन्द्रीय ब्याङ्कले दैनिक ४०–५० अर्ब रुपैयाँ स्थायी तरलता सुविधाअन्तर्गत उपलब्ध गराइरहेको भट्टले बताए ।
सरकारले पूँजीगत खर्च गर्न नसकेका कारण पनि ठूलो परिमाणमा रकम उसको ढुकुटीमा बसिरहेकाले तरलता सङ्कटमा सहजता आउन नसकेको कतिपय ठान्छन् । त्यसमाथि चैत मसान्तमा तिर्नुपर्ने कर रकमका कारण यो साता थप ३०–४० अर्ब रुपैयाँ सरकारी खातामा गएको र अब त्यो ब्याङ्किङ् प्रणालीमा फर्कन केही समय लाग्ने ढुङ्गानाले बताए ।
तर आगामी केही महिनामा आर्थिक वर्षको अन्त्यतिर धेरै खर्च हुने पुरानो प्रवृत्ति दोहोरिनसक्ने कारण अनि चुनावमा खर्च हुने कारण तरलतामा केही सहजता आउनसक्ने ब्याङ्करहरू ठान्छन् । वीवीसीबाट साभार गरिएको


