Banijya News

महानगर–उपमहानगरको भागबन्डा मिलाउन गठबन्धनको बैठक सुरु

1
1.1K Shares

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ पालिका नगरपालिकाको कुरा मिलेता पनि उपमहानगर पालिका र महानगरपालिको विषय भने पेचिलो बन्दै गईरहेको छ । यस विषयमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भएता पनि सिट भागबन्डामा भने अझै कुरा मिल्न सकेको छैन । सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ ।

पाँच दलका शीर्ष नेतासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बिहान १० बजेपछि सुरु भएको हो । जारी बैठकले मूलतः महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले जानकारी दिएका छन् । बैठकमा समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू नेपाली कांग्रेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलगायत सहभागी छन् ।

पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी हुँदा पनि सत्ता गठबन्धनका दलले महानगरपालिका र उपमहानगरपालिकासहितका स्थानीय तहमा उठ्ने उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन् । महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा गठबन्धनका सबै दलले दाबी गर्दा सहमति हुन नसकेको हो । आज बसेको बैठकले छिनोफानो गर्ने राजनितिज्ञहरुले आशा गरेका छन् ।

1

Scroll to Top