भ्यागुताको धार्नी नपुगे जरी नै सत्ता गठबन्धन दलको समेत सहमतिमा पुग्न नसक्दा मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर बस्ने भनिएको बैंठक फेरि सारिएको हो ।
तालेमेलको मोडालिटी तयार गर्ने सन्दर्भमा तयारी नपुगेको भन्दै ११ः३० मा बस्ने भनिएको बैठक मंगलबार दिउँसो २ बजेका लागि सरेको हो ।
यसअघि सोमबार बसेको गठबन्धनको बैठकमा महानगरपालिकाको भागबण्डाको विषयमा कुरा मिल्न सकेको थिएन । पोखरा महानगरपालिकाको भागबण्डालाई लिएर गठबन्धनका दलहरुबीच विवाद छ ।
पोखराको मेयरमा गठबन्धनका २ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । ६ महानगरमध्ये अन्यमा भागबण्डा मिलिसकेको बताइए पनि पोखराका कारण टुंगोमा पुग्न सकेको छैन ।
पोखरा महानगरको विषयमा छलफल गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
६ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर लिने सहमति भएको छ । त्यस्तै, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने सहमति भएको छ ।
गठबन्धनका दलहरुबीच केही उपमहानगरपालिकाको भागबण्डामा पनि सहमति हुन सकेको छैन ।


