प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँगे्रसका शीर्ष नेतासँग आज बैठक बस्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत शीर्ष नेताको उपस्तिथी हुने स्रोतले जनाएको छ । त्यसैगरी, बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि आह्वान गरीएको जनाए ।
बैठकमा देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बोलाएको बालुवाटरका निकट स्रोतले जनाएको हो । काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था रहेको हो । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।


