पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निणर्यको स्वागत गरेका छन्। सरकारी निणर्यले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ।
कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निणर्यले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ। सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निणर्य गरेको हो।
होटल संघले विज्ञप्ति नै निकालेर सरकारको निणर्यले सकारात्मक सन्देश दिएको बताएको छ। ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ।
कोभिड-१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताउँछन्। अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन्। यो निणर्यले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए।
पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन्। विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ। पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन्।
पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निणर्य गरेको छ। अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएको छ।


