काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार १४ हजार ७ सय ७८ मत गणना गर्दा बालेन ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् । निर्वाचन आयोगका अनुसार साहलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत प्रप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल अग्र स्थानमा छिन् । उनले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकामा १ नम्बर वडाको अन्तिम नतिजा आइसकेको छ । वडा नम्बर २, ३, ४, ५, ३१ र ३२ नम्वर वडाको मत गणना जारी छ ।


