मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । निर्वाचनको मिति घोषणा गर्नका लागि ढिलाइ भइरहेको बेला सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने समझदारी बनेको हो । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको जानकारी दिईएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्ने जनाईएको छ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए । सरकारले एकै चरणमा निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।बैठकमा निर्वाचनको मिति घोषणासँगै सिट बाँडफाँटको विषयमा पनि छलफल भएको भएको बताइएको छ ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेससँग सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्रले निर्वाचनको मिति घोषणा अघि नै सिट बाँडफाँटको मोडालिटीमा टुंगो लगाउने पर्ने प्रस्ताव अघि सारेका थिए । तर कांग्रेसले निर्वाचनको मिति घोषणा भएपछि मात्र सिट बाँडफाँटको विषयमा छलफल गर्ने बताउँदै आएको छ ।
कांग्रेसको यसअघि बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ९० भन्दा बढी क्षेत्रमा आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।


