Banijya News

पेट्रोलियम पदार्थको आयातमार्फत विदेशिने रकम प्रतिब्यारल ८४ डलरमा झर्योे

1
1.1K Shares

पेट्रोलियम पदार्थको आयातमार्फत विदेशिने रकम प्रतिब्यारल ८४ डलरमा झरेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा पेट्रोलियम पदार्थ आयातमार्फत बाहिरिने रकम घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा आयातको परिमाण बढे पनि यसमार्फत बाहिरिने रकम खुम्चिएको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मट्टितेल बाहेक पेट्रोल, डिजेल र हवाई इन्धनकै आयात मूल्य घटेको हो ।

वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि ७५ सेन्टले घटेर ७८.८९ डलर प्रतिब्यारेल भएको छ।
विश्वकै दोस्रो ठूलो कच्चा तेलको उपभोक्ता चीनमा माग कम भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य झर्न थालेको जनाइएको छ।

चालु आर्थिक वर्षको साउन महिनामा पेट्रोल आयातमा ५ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा ९४ अर्बले कम हो । गत आर्थिक वर्षको साउन महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल आयात भएको थियो।

यो वर्ष पेट्रोलको आयात मूल्य खुम्चिए पनि आयातको परिमाण भने गत वर्षको तुलनामा बढेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको साउन महिनामा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु वर्षको साउन महिनामा भारतबाट ५६ हजार ९०१ किलोलिटर पेट्रोल भित्रिएको छ । यो गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरै हो ।

यस्तै, चालु वर्षमा ९ करोड ८६ लाख रुपैयाँको मट्टितेल आयात भएको छ । यो रकम गत वर्षको यही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ७ करोड ९४ लाख रुपैयाँको ५४० किलोलिटर मट्टितेल भित्रिएको थियो । चालु वर्षमा भने १ हजार ६० किलोलिटर मट्टितेल भित्रिएको छ ।

तथ्यांकअनुसार हवाई इन्धनको आयातमा चालु वर्षको पहिलो महिनामा १ अर्ब १७ करोड बाहिरिएको छ । यो गत वर्षको पहिलो महिनाको तुलनामा १७ अर्बले न्यून हो । गत वर्षको यही अवधिमा हवाई इन्धनको आयातमा १ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, गत वर्ष १० हजार १८१ किलोलिटर हवाई इन्धन भित्रिएकोमा चालु वर्षमा १२ हजार ५४८ किलोलिटर भित्रिएको छ ।

हवाई इन्धनसमेत गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरैले आयात भएको छ । यद्यपि, आयातमार्फत बाहिरिने रकम भने १७ अर्बले खुम्चिएको छ । यसबाहेक, गत वर्षको साउन महिनामा ८ अर्ब ९८ करोडको डिजेल भित्रिएकोमा यो वर्षको सोही अवधिमा ७ अर्ब ३४ करोडको डिजेल भित्रिएको छ ।

गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा डिजेलको आयात परिमाणसमेत बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल भित्रिएकामा यो वर्ष साउनमा ७६ हजार ७१६ किलोलिटर डिजेल भित्रिएको छ । यो करिब १० हजार किलोलिटरले बढी हो । यो तथ्यांकले आयातको परिमाण बढे पनि बाहिरिने रकम भने घटेको देखाउँछ ।

 

1

Scroll to Top