देशकै सबैभन्दा ठूलो अटो शो ‘नाडा अटो शो २०२३’ आज मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु हुँदैछ । ४ वर्षपछि हुन लागेको अटो शोमा विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडलहरु बजारमा सार्वजनिक गर्दैछन् । आयोजकका अनुसार अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । १५ औं संस्करणको यस अटो शोमा ४५ सवारी ब्राण्डको सहभागिता रहेको छ ।
जसमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्सियल भेहिकल रहेका छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेट, बैंक तथा वित्तीय संस्थाको पनि स्टल अटो शोमा रहने छ । ६ दिनसम्म चल्ने नाडा अटो शो २०२३ मा २० अर्ब रुपैयाँको कारोबार र करिब ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
यसपटक एक्स्पोमा चार पाङ्ग्रे सवारीमा बीवाईडी, सिट्रोन, फोर्ड, जी इभी, ग्रेटवाल मोटर्स, हुन्डाई, किया, महिन्द्रा, मेक्सस, एमजी, नेटा, निशान, सेरस, सुजुकी, टाटा र विलिङ सहभागी रहेका छन् । दुई पाङ्ग्रेमा एफ्टेक, बजाज, बेनीली, इभोक, होन्डा, जावा, कोमाकी, केटीएम, लेक्ट्रो, लिभनेङ, एनआइयु, पियर इभी, रोयल इन्फिल्ड, सेगवे, स्लेन एन ९०, सुनरा, सुजुकी, टीभीएस, भेष्पा–अप्रिला, यडिया र जोन्टस ब्रान्डको सहभागिता रहेको छ।नाडा अटो शो अवलोकनको लागि सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीको लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।


