नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।
कार्यालयका प्रमुख राकेशकुमार झाले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको बताए ।
कार्यालयले साउनदेखि पुस मसान्तसम्म एक हजार तीन सय ८२ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, चार हजार ३३ नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच, एक सय दुई पेट्रोल पम्प जाँच र दुई हजार ६ सय १८ ट्याक्सी मिटर जाँच गरेको जनाएको छ ।
कार्यालयले चालु आवको छ महिनामा रु ९२ लाख ९८ हजार पाँच सय ९२ राजस्व संकलन गरेको छ । कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवा गरी नौ जिल्लामा नापतौलको अनुमति प्रदान, नवीकरण, अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।


