Banijya News

ई-पासपोर्ट छपाइमा कानुन विपरीत विदेशी कम्पनी छनोट

1
1.2K Shares

नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको छ। ६४ लाख थान ई-पासपोर्ट छपाउने ठेक्काका लागि राहदानी विभागले सुरुमा एक फ्रान्सेली कम्पनी र पछि दुई जर्मन कम्पनीलाई छनोट गरेको थियो, तर यी दुवै छनोट प्रक्रियामा सार्वजनिक खरिद कानुनको ठाडो उल्लङ्घन भएको भेटिएको छ। यो विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ।

विभागले २०८१ कात्तिक २६ गते दुई ठूला अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। पहिलो प्याकेज डाटा व्यवस्थापन प्रणाली र दोस्रो प्याकेज ६४ लाख ई-पासपोर्ट पुस्तिकाको प्रिन्टिङ तथा निजीकरण उपकरण आपूर्तिका लागि थियो। सुरुमा विभागले फ्रान्सेली कम्पनी आइडिमिया लाई ठेक्का दिने प्रयास गरेको थियो। सार्वजनिक खरिद ऐन, २०६३ को स्पष्ट व्यवस्थाअनुसार, प्राविधिक मापदण्ड नपुगेका बोलपत्रहरूलाई आर्थिक मूल्याङ्कनमा लैजान पाइँदैन। तर, विभागले प्राविधिक रूपमा अयोग्य रहेको आइडिमियालाई फाइदा पुग्नेगरी प्रक्रिया मिचेको आरोप छ।

विभागका महानिर्देशक तीर्थराज अर्यालको अध्यक्षतामा रहेको मूल्याङ्कन समिति र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीको नेतृत्वमा रहेको प्राविधिक उपसमितिले आइडिमिया पहिलो र दोस्रो प्याकेज दुवैका लागि अयोग्य भएको निष्कर्ष निकालेको थियो। उपसमितिले सार्वजनिक खरिद अनुगमन कार्यालयको राय आवश्यक रहेको भन्दै प्रतिवेदन दिए पनि, मूल्याङ्कन समितिले उक्त राय बेवास्ता गर्दै उपसमितिको प्रतिवेदन अस्वीकृत गरी आइडिमियालाई ठेक्का सम्झौताका लागि छनोट गरेको थियो। यो निर्णयको विरोधमा प्राविधिक उपसमितिका एक सदस्यले अन्तिम प्रतिवेदनमा हस्ताक्षर गर्नसमेत मानेनन्। विगत १५ वर्षदेखि नेपाली राहदानी छाप्दै आएको आइडिमियालाई नै पुनः ठेक्का दिने दबाबमा यस्तो अनियमितता भएको बुझिएको छ।

आइडिमियासँगको ठेक्का प्रक्रिया विवादित भई सम्झौता हुन नसकेपछि विभागले जर्मनीका दुई कम्पनी मुहलबाउर (Muhlbauer) र भेरिडोस (Veridos) लाई छनोट गरेको छ। मुहलबाउरले १ अर्ब ५५ करोडभन्दा बढीको डाटा व्यवस्थापन प्रणालीको ठेक्का पाएको छ भने भेरिडोसले ६ अर्ब ११ करोडभन्दा बढीको ई-पासपोर्ट पुस्तिका तथा निजीकरण उपकरण आपूर्तिको ठेक्का पाएको छ। कुल साढे सात अर्बको यो ठेक्का जर्मन कम्पनीहरूलाई दिइएकोमा आइडिमिया ले असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक खरिद पुनरावलोकन समितिको सचिवालयमा निवेदन दिएको छ। आइडिमियाले असार ११ गते मुहलबाउर र भेरिडोसविरुद्ध निवेदन दर्ता गर्दै बोलपत्र नियम मिचेर ठेक्का दिइएको आरोप लगाएको छ।

ठेक्का प्रक्रिया विवादित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले यस विषयमा चासो देखाएको छ। अख्तियार स्रोतका अनुसार, नियमविपरीत आइडिमियालाई प्राथमिकतामा राखेको भन्दै विभागका महानिर्देशक र अन्य कर्मचारीहरूसँग सोधपुछ गरिसकिएको छ। यो घटनाले सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र वैधानिकतामाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाका छोरा) र मुहलबाउरका प्रतिनिधि मनिन्द्रराज मल्ल रहेको खुल्न आएको छ। अख्तियारको छानबिनले यस विषयमा थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।

1

Scroll to Top