Banijya News

फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक

1
1.2K Shares

नेपालमा फिक्स्ड ब्रोडब्यान्ड सेवामा प्रयोगकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको एमआईएस प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या देशभर ३१ लाख ७८ हजार ६ सय ३७ पुगेको छ ।

यो अघिल्लो महिनाको तुलनामा ७५ हजार ८ सय १४ ले बढी हो ।

वैशाखमा एफटीटीएच इन्टरनेटका ग्राहकको संख्या ३१ लाख २ हजार ८ सय २३ थियो । यो संख्या जेठमा करिब २.४४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले अघिल्लो महिना सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य (एफोर्डेबल) बनेको छ । नेपालमा चाहिँ मोबाइलभन्दा फिक्स्ड ब्रोडब्यान्ड सुपथ मानिन्छ । तर पनि हालसम्म आधा जनसंख्यामा मात्रै यो सेवा पुगेको तथ्यांक सार्वजनिक भएका छन् ।

स्मार्टफोन, ट्याब्लेट वा वाइफाई डिभाइस प्रयोग गरेर थ्रीजी, फोरजी, फाइजीजस्ता मोबाइल नेटवर्कमार्फत प्रदान गरिने इन्टरनेट सेवा मोबाइल ब्रोडब्यान्ड हो । यसका लागि सिमकार्ड वा मोबाइल डेटा प्याक आवश्यक पर्छ । फिक्स्ड ब्रोडब्यान्ड भनेको चाहिँ अप्टिकल फाइबर, एडसीएल वा केबलमार्फत घर वा कार्यालयहरूमा जडान गरिने इन्टरनेट सेवा हो ।

1

Scroll to Top