Banijya News

गभर्नर पौडेलको नीतिले सेयर बजारदेखि साना व्यवसायी सम्मलाई राहत

1
1.2K Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति उनको कार्यकालको पहिलो नीति हो। यो नीतिले सेयर बजार, घरजग्गा कर्जा र साना व्यवसायीहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य लिएको छ।

नयाँ नीतिमा ब्याजदर करिडोरमा हेरफेर गरिएको छ भने सेयर धितो कर्जाको सीमा पनि बढाइएको छ। सेयर बजारमा लगानी प्रवाह बढाउन एकल ग्राहकका लागि सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। यस कदमबाट सेयर बजारमा तरलताको समस्या केही घट्ने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास गरिएको छ।

गभर्नर पौडेलले सेयर बजारप्रति देखाएको लचकताले लगानीकर्तामा उत्साह ल्याएको छ। यसको तुलनामा अघिल्लो गभर्नर महाप्रसाद अधिकारीको पालामा लागू गरिएको कडाइले बजारमा निराशा फैलिएको थियो। अधिकारीले २०७८/७९ को मौद्रिक नीतिमा कर्जा सीमा घटाएर एक वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोड सीमित गरेका थिए। पछिल्ला वर्षमा त्यो सीमा क्रमशः १५ करोड बनाइएको थियो, जुन अब पौडेलले २५ करोड पुर्‍याएका छन्।

नयाँ नीतिले जोखिमभार समेत घटाएको छ। सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ। साथै, संस्थागत लगानीकर्ताका लागि तोकिएको २० करोडको सीमा खारेज गरिएको छ। यसले सेयर बजारको गतिमा सहजता ल्याउने र कम्पनीहरूको पुँजी परिचालनमा थप लचिलो वातावरण बनाउने अपेक्षा गरिएको छ।

सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ, तर पछिल्ला वर्षहरूमा यो क्षेत्र अपेक्षाकृत सुस्त देखिएको थियो। तरलताको अभाव, सरकारी नीति र ब्याजदरको उच्च दबाबका कारण बजारमा अस्थिरता बढेको थियो। गभर्नर पौडेलको नीतिले अब सेयर बजारलाई गति दिने संकेत देखाएको छ।

ब्याजदर करिडोर घटाइएकाले निक्षेप र कर्जाको ब्याजदर पनि कम हुने अपेक्षा गरिएको छ। यसले उपभोक्ता खर्च र निजी लगानीमा सकारात्मक असर पार्नेछ। यसैगरी, व्यवसायिक गतिविधिमा सहजता ल्याउने गरी कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत निर्धारण गरिएको छ।

घर निर्माणका लागि कर्जा व्यवस्थामा पनि लचकता देखाइएको छ। पहिलो घर बनाउने व्यक्तिहरूका लागि ८० प्रतिशतसम्म कर्जा दिने र ३ करोड रुपैयाँसम्मको कर्जामा आधारदरमा २ प्रतिशत मात्र थप ब्याज लिने प्रावधानले साना तथा मझौला वर्गलाई राहत पुग्नेछ।

कृषि क्षेत्रमा पनि नीति लचिलो बनाइएको छ। १० लाख रुपैयाँसम्मको कृषि कर्जामा नोक्सानी व्यवस्थापनलाई सहज बनाइएको छ भने पुनर्तालिकीकरणको व्यवस्था निरन्तरता दिइएको छ। यसले कर्जा भुक्तानीमा कठिनाइ भोगिरहेका ऋणीलाई राहत दिनेछ।

राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपातको पुनरावलोकन गर्ने र बैङ्क तथा वित्तीय संस्थाहरूलाई हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्न अनुमति दिने निर्णय गरेको छ। यसबाहेक, परियोजना कर्जामा स्वनियमनको नीति लागू गरिएको छ भने विशिष्टिकृत सेवा प्रवाह गर्न बैङ्कहरूलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिएको छ।

1

Scroll to Top