सरकारले चालु आर्थिक वर्षको अन्त्यसँगै अधिकांश भुक्तानी प्रक्रिया रोकिदिएको छ। आर्थिक कार्यविधि ऐन अनुसार असार मसान्त अघिल्लो दिनसम्म अत्यावश्यक खर्चबाहेक अन्य सबै भुक्तानी बन्द गरिनु पर्ने प्रावधान छ। तर, यो कानुनी व्यवस्था मात्र नभई अब भुक्तानी गर्नै नसक्ने अवस्थाको सङ्केत हुन थालेको देखिन्छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले तिर्नुपर्ने धेरै भुक्तानी अहिलेसम्म रोकिएको छ। प्रमुख सरकारी कार्यक्रमहरूमै बक्यौता चुलिँदै गएको छ।
नेपाल विद्युत प्राधिकरणलाई सरकारले अझै १४ अर्ब रुपैयाँ तिर्न बाँकी छ। कोल्ड स्टोर, जुट मिल, सडक बत्ती लगायतमा विद्युत छुट दिँदा भएको यो दायित्व अहिलेसम्म पूरा भएको छैन। स्थानीय तहले पनि आफ्नो हिस्साको बक्यौता नतिरेका कारण प्राधिकरणमा संकट देखिएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन्।
सरकारले स्वास्थ्य बीमाको दाबी भुक्तानी गर्न नसक्दा अस्पतालहरूले रकम पाउन सकेका छैनन्। स्वास्थ्य बीमा बोर्डका अनुसार चालु वर्षमै २२ अर्बको दायित्व बाँकी छ। सरकारले आगामी वर्षका लागि १० अर्ब छुट्याएको छ, जुन अपर्याप्त हो।
विभिन्न १० शीर्षकमा दिइने सहुलियत ऋण अन्तर्गत करिब १० अर्ब रुपैयाँको ब्याज अनुदान सरकारबाट अझै उपलब्ध भएको छैन। यसले गर्दा बैंकहरूले यस्ता ऋण विस्तार गर्न रोकेको नेपाल बैंकर्स संघको दाबी छ।
सरकारले ८०% सम्म बीमा शुल्क तिरिदिने भनेपछि कृषि बीमामा उत्साह बढेको थियो। तर यो वर्षको रकम अझै बीमा कम्पनीहरूले पाएका छैनन्। किसानले दाबी गर्दा कम्पनीहरूले “सरकारले पैसा दिएको छैन” भन्दै ढिलाइ गर्न थालेको किसान समूहको आरोप छ।
कोभिड-१९ का क्रममा गरिएको बीमाको झन्डै १० अर्ब रुपैयाँ सरकारबाट भुक्तानी भएको छैन। अदालतको आदेशपछि पनि रकम रोकिएको छ।
बक्यौता किन बढ्दै छ भन्नेमा अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरूबीच दोषारोपण चलिरहेको छ। अर्थ मन्त्रालयले विश्लेषण क्षमताको कमी भन्दै सम्बन्धित मन्त्रालयलाई दोष दिएको छ भने, पूर्वसचिवहरूका अनुसार कार्यक्रम अघि बजेट मूल्याङ्कन नगर्नु र राजनीतिक लोकप्रियता खोज्ने प्रवृत्तिले बक्यौताको चाङ बनाएको हो।


