Banijya News

पछिल्लो २९ दिनमै सकियो कुल बजेट खर्चको एक तिहाई रकम

1
1.2K Shares

असार महिनामा नेपाल सरकारले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म सुस्त रहेको पुँजीगत खर्च कुल विनियोजित बजेटको ३२ प्रतिशत असारको २९ दिनमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, असार २९ गतेसम्म पुँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड ७९ लाख पुगेको छ । जेठ मसान्तसम्म भने यो खर्च १ खर्ब ४३ अर्ब ३८ करोड ८८ लाख मात्र थियो । यसको अर्थ, असार महिनामा मात्र ६७ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ, जसले “असारे विकास” को प्रवृत्ति यस वर्ष पनि दोहोरिएको देखाउँछ ।

अर्थ मन्त्रालयका अनुसार, यस अवधिसम्मको पुँजीगत खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ अर्ब बढी हो । यद्यपि, सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेटको तुलनामा भने यो अवस्था सन्तोषजनक छैन । असार २९ गतेसम्म लक्ष्यको ५९.९८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ, जसले पुँजीगत खर्च बढाउने सरकारका प्रतिबद्धता असफल भएको देखाउँछ ।

नेपाल सरकारले २०६८/६९ देखि बजेटलाई चालु, पुँजीगत र वित्तीय व्यवस्थामा वर्गीकरण गर्न थालेको हो । त्यसयताका १३ वर्षमध्ये दुई आर्थिक वर्षबाहेक अन्य कुनै पनि वर्षमा पुँजीगत खर्च ८० प्रतिशत नाघेको छैन । अर्थ मन्त्रालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०६९/७० र २०७४/७५ मा मात्र पुँजीगत बजेट विनियोजनको ८० प्रतिशतभन्दा बढी खर्च भएको थियो । पछिल्लो १३ वर्षको औसत पुँजीगत बजेट खर्च ६७.८० प्रतिशत मात्र रहेको तथ्यांकले देखाउँछ ।

सरकारले प्रत्येक बजेट वक्तव्यमा रकमान्तरमा कडाइ गर्ने घोषणा गरे पनि आर्थिक वर्षको अन्त्यमा विकास खर्चको लक्ष्य भेटाउन रकमान्तरको सहारा लिइन्छ । महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार, २०८०/८१ मा सरकारले २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको थियो । चालु आर्थिक वर्षमा भएको रकमान्तरको पूर्ण तथ्यांक अझै सार्वजनिक भएको छैन, तर अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, चैत र वैशाखमा मात्र १ करोडमाथिको विकास बजेट साढे ६ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । जेठ र असारमा यस्तो रकमान्तर अझै धेरै हुने गर्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँको १४.६४ प्रतिशत रकमान्तर गरी खर्च गरिएको थियो । त्यसमध्ये असारमा मात्र २६ अर्ब ९० करोड र असार अन्तिम साता १५ अर्ब ९८ करोड रकमान्तर भएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने भए पनि, अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ६४ करोड ७ लाख रुपैयाँ (सुरु विनियोजनको ४.५४ प्रतिशत) बजेट यो अवधिमा रकमान्तर गरी खर्च गरिएको थियो ।

अघिल्लो वर्ष सुरु बजेटमा समावेश नभएका २३ वटा कार्यक्रम बीचमै घुसाएर ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरिएको थियो । बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्यत्र रकमान्तर गर्न नपाउने उल्लेख भए पनि, अघिल्लो वर्ष ८ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएको ५ अर्ब २८ करोड ५० लाख रुपैयाँ गौरवका आयोजनाबाहेक अन्यत्र खर्च गरिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले रकमान्तरबाट हुने खर्चले सरकारको विनियोजन दक्षता र खर्चको गुणस्तरमाथि प्रश्न खडा गरेको उल्लेख गरेको छ ।

1

Scroll to Top