Banijya News

बैंकहरुले कृषि तथा औद्योगिक क्षेत्रमा बढाए लगानी

1
1.2K Shares

बैंक तथा वित्तीय संस्थाहरूले कर्णाली प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषि क्षेत्रमा प्रवाहित कर्जा १४.०१ प्रतिशत र औद्योगिक कर्जा १४.९५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कुल कर्जामध्ये ठूलो हिस्सा ८४.८९ प्रतिशत अझै पनि सेवा क्षेत्रमै केन्द्रित छ।

राष्ट्र बैंकको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार, समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत र औद्योगिक कर्जाले ६.४१ प्रतिशत हिस्सा ओगटेको छ। कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा बढेर ५ अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यसमा सुर्खेत जिल्ला (१ अर्ब ८५ करोड ८२ लाख) अग्रस्थानमा छ भने मुगुमा सबैभन्दा कम १३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

औद्योगिक क्षेत्रमा बैंकहरूले ३ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो कर्जा १४.९५ प्रतिशतले बढेको हो। खासगरी धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा कर्जा प्रवाह २९.४५ प्रतिशतले वृद्धि भएको छ। तर, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा भने कर्जा प्रवाह १५.२९ प्रतिशतले घटेको छ। औद्योगिक कर्जामा पनि सुर्खेत (२ अर्ब ३२ करोड ३२ लाख) अगाडि छ, जबकि डोल्पामा सबैभन्दा कम १ करोड २८ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ।

सेवा क्षेत्रमा प्रवाहित कर्जा २७.३३ प्रतिशतले वृद्धि भई ५० अर्ब २७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत अवधिमा यस क्षेत्रमा कर्जामा १८.९८ प्रतिशतले कमी आएको थियो।

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेप पनि बढेको छ। गत अवधिको तुलनामा १२.५७ प्रतिशतले वृद्धि भई कुल निक्षेप ७४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यो वृद्धिमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा विस्तार, र सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकास मुख्य कारण रहेको राष्ट्र बैंकको भनाइ छ।

1

Scroll to Top