नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्ने भएको छ । विद्युतीय भुक्तानी प्रणाली बढ्दै जानुका साथै बैंकहरूले पनि सञ्चालन लागत धान्न नसक्ने भन्दै शाखा बन्द गर्न माग गरेपछि राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको हो ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिमा पनि बैंक, वित्तीय संस्थाको शाखा विस्तारको नीति परिवर्तन गर्ने घोषणा गरेको छ । विगतमा बैंकहरूको शाखा गाउँगाउँसम्म पुर्याउन राष्ट्र बैंकले नीति लिएको र यसमा अब परिवर्तन गर्न लागिएको प्रवक्ता किरण पण्डितले बताए ।
‘हामीले विभिन्न छूट तथा सहुलियत दिएर बैंकहरूको शाखा विस्तार गर्न प्रोत्साहन गर्दै आएका थियौं,’ उनले भने । ‘अहिलेको अवस्थामा त्यो अधिकांश ठाउँमा बैंकका शाखा पुगेका छन्, विद्युतीय भुक्तानी तथा कारोबारले शाखाको महत्त्व घट्दै गएकाले यसमा परिवर्तन जरुरी छ ।’
राष्ट्र बैंकले बैंकहरूलाई शाखा सञ्चालनमा अनुदान दिने, निब्र्याजी रकम प्रदान गर्ने, स्प्रेडदरलगायत नियामकीय सूचकहरू पालनमा छूट दिएर बैंकहरूलाई ग्रामीण क्षेत्रमा सेवा विस्तारमा प्रोत्साहन गर्दै आएको छ । गतवर्षसम्म मात्र राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन भन्दै बैंकहरूलाई स्थानीय तह तोकेरै शाखा खोल्न निर्देशन दिएको थियो । गत माघमा साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोलेपछि राष्ट्र बैंकले नै सबै स्थानीय तहमा बैंकको शाखा पुगेको घोषणा गरेको थियो ।
पछिल्लो समय बैंकहरूको मर्जरका कारण समेत एकै ठाउँमा धेरै ओटा शाखा भएपछि बैंकहरूले समेत शाखा बन्द गर्न नेपाल राष्ट्र बैंकमा समेत निवेदन दिन थालेका छन् ।
राष्ट्र बैंकले मर्जरका कारण दोहोरिएको शाखाहरू मर्जर गर्न दिए पनि शाखा बन्द भने अनुमति दिएको छैन ।
डा. रेवतबहादुर कार्कीको अध्यक्षतामा गठन भएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पनि हालै राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदनमा बैंकको शाखा बन्द गर्न पाउनुपर्ने भन्दै सुझाव बुझाएको छ । वाणिज्य बैंकको व्यावसायिक सम्भाव्यता नभएका ठाउँमा विकास बैंक, फाइनान्स कम्पनी वा लघुवित्तमार्फत वित्तीय सेवा पुर्याउन सकिने भएकाले बैंकहरूलाई शाखा बन्द गर्न दिनुपर्ने कार्यदलको सुझाव छ ।
राष्ट बैंकको तथ्यांकअनुसार २०८२ जेठसम्म सञ्चालनमा रहेका ५४ ओटा बैंक तथा वित्तीय संस्थाका ६ हजार ५१८ ओटा शाखा सञ्चालनमा छन् । यसमध्ये सबैभन्दा बढी वाणिज्य बैंकका ५ हजार ९५, विकास बैंकका १ हजार १३२ र फाइनान्स कम्पनीका २९१ ओटा शाखा छन् । विगतमा बैंकहरूको शाखा विस्तार तीव्र रूपमा भए पनि पछिल्लो समयमा यो क्रम घटिरहेको छ ।


