Banijya News

पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने

4 Shares

नेपाल पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने भएको छ । पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको थियो ।

बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छवीलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याएको हो । बजेट उपसमिति संयोजक भण्डारीले यस ऐतिहासिक बजेटले महत्कांक्षी योजना सार्वजनिक गरेको र यसले बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

सीईओ जोशीले पर्यटन व्यवसायको विकास, विस्तार र प्रबर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने र पर्यटन क्षेत्रको दिगो विकासका लागि यस वर्षको बजेट केन्द्रित भएको बताएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को रुपमा प्रबर्द्धन गर्ने पनि यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । यसैगरी गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तिमा १५ प्रतिशतले वृद्धि गर्ने बोर्डको लक्ष्य रहेको छ । बोर्डले चालु आर्थिक वर्षमा कम्तिमा ५० वटा स्रोत बजारमा प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तिमा २५ वटा नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्न भएको छ ।

बोर्डको सेवा विस्तारका लागि कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोल्‍ने भएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो, जहाँबाट सन् २०२४ मा मात्र ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

Scroll to Top