Banijya News

दुई खर्ब बढीको निर्यातमा आधा हिस्सा आयातित भटमास र सूर्यमुखी तेल

1
1.1K Shares

गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ । त्यस्तै, नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा रहेका छन् ।

भन्सार विभागले सार्वजकि गरेको तथ्यांक अनुसार सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख बराबरको निर्यात भएको छ । त्यस्तै, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख बराबरको निर्यात भएको छ । तयस्तै गत आवमा १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख बराबरको कच्चा भटमास तेल र २९ अर्ब २ करोड १९ लाख बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ ।

गत आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो।

गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा गत आवमा आयात १३.२५ र निर्यात ८१.८० प्रतिशतले बढेको विभागको तथ्यांकबाट देखिएको छ । समग्र वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढ्दा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.६९ र निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा १० खर्ब ७१ अर्ब २० करोड बराबरको आयात र २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र ८ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ ।

1

Scroll to Top