Banijya News

ईभी आयातमा कर छलीबारे १७ ब्राण्डको भन्सार अडिट गर्दै पीसीए

1
1.1K Shares

भन्सार जाँचपास परीक्षण कार्यालय (पीसीए)ले ईभी गाडी आयातमा कर छली भएको आशंकामा अनुगमन (अडिट) सुरु गरेको छ । पीसीएले नेपालमा आयात भएका विभिन्न १७ वटा चारपांग्रे ईभी ब्राण्डबारे अडिट गर्न थालेको हो ।

महालेखापरीक्षकको कार्यालयले पनि ईभी गाडीमा कर छली भएको औल्याएको थियो । छलीबारे प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गर्दै छ । यसैबीच अब पीसीएले पनि अडिट गर्न सुरु गरेको जनाएको छ । महालेखाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा ईभी गाडी आयात गर्दा आयातकर्ताले करिब ४ अर्ब कर छली गरेको उल्लेख थियो।

ईभी गाडीको मोटर क्षमताका आधारमा भन्सार महसुल र अन्तःशुल्क लाग्ने गर्दछ । कम्पनीहरूले ईभी आयात गर्दा १०० देखि २०० किलोवाट क्षमताका ईभीको पनि ९९ किलोवाट क्षमताको बिल बीजक बनाएर भन्सार पास गरेको महालेखाको दाबी छ । यसरी झूट बिल बीजक बनाएर ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ कर छली भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम असुल गर्न महालेखाले सुझाव दिएको थियाे ।

यसैगरी, निर्माण भएको देशबाट अन्य देशमा निर्यात विवरण हेर्दा १०० देखि २०० किलोवाट मोटर क्षमता भएको सोही मोडलको ईभी नेपाल भित्रदाँ भने ९९ किलोवाटको बिजक बनाएको पनि महालेखाले उल्लेख गरेको छ ।

महालेखाका अनुसार उक्त सवारीहरु रसुवा र तातोपानी भन्सार कार्यालयबार पास भएको थियो । उक्त कार्यालयहरु चाईनाको सिमानामा पर्दछ । अर्थात् चाईनाबाट आयात भएका केही ईभीमा कर छली भएको महालेखाको भनाई हो ।

यसै सम्बन्धमा भन्सार विभागले अडिट गर्नका लागि पीसीएलाई प्रज्ञापन पत्र पठाएको हो । जहाँ १७ वटा ब्राण्डका ईभी आयातमा भन्सार छली भएको हो वा होइन भन्ने विषयमा पीसीएले अडिट गर्दैछ ।

यसैक्रममा पीसीएले उत्पादक कम्पनीहरुलाई यसबारे ईमेल नै पठाएको छ । पीसीएले कम्पनीहरुसँग नेपालमा आयात भएका गाडीको आधिकारिक मोटर क्षमता र एउटै मोडलका गाडीको किलोवाट अन्य मुलुकको तुलनामा किन कम भयो भन्ने प्रश्न जवाफ माग गर्दै उत्पादक कम्पनीलाई ईमेल मार्फत पत्र पठाईएको पीसीएका एक अधिकारीले आर्थिक न्यूज डटकमलाई जानकारी दिए ।

1

Scroll to Top