मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ (साउन–असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको छ ।
पछिल्लो एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । आव २०८/र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए।
कार्यालयको तथ्याङ्कानुसार आव २०८/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
कार्यालयको तथ्याङ्कानुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१र८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।


