Banijya News

कोरोनापछिको तीन वर्षमा नेपालको वैदेशिक सहायता निरन्तर ओरालो

1
1.2K Shares

कोरोना महामारीपछिका तीन वर्षमा नेपालमा आएको वैदेशिक सहायता निरन्तर ओरालो लागेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०७९/८० अनुसार कोरोना शुरू भएको आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक सहायताको प्राप्ति उच्च भई पछिल्ला तीन वर्ष निरन्तर ओरालो लागेको छ ।

आव २०७६/७७ मा करीब दुई अर्ब अमेरिकी डलर बराबर वैदेशिक सहायता प्राप्त भएकोमा त्यसपछि घट्दो क्रममा रही आव २०७८/७९ मा १ अर्ब ४२ करोड र २०७९/८० मा १ अर्ब ३७ करोड अमेरिकी डलरमा झरेको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्ला ६ वर्षको तुलनामा सबैभन्दा कम हो । कोरोना शुरू हुनअघि भने वैदेशिक सहयता बढ्दो क्रममा थियो ।

यस गिरावटको एक कारण कोरोनाका बेला उच्च वैदेशिक सहायता आएकाले स्वाभाविक रूपमा त्यसपछिका वर्षहरूमा घटेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि विश्वव्यापी भू–राजनीतिक परिस्थितिमा उत्पन्न अस्थिरता, विकास साझेदारहरूको नीतिगत प्राथमिकताको फेरबदल, आन्तरिक वित्तीय तनाव तथा कार्यान्वयन र प्रशासनिक क्षमतामा देखिएको खाडलले पनि वैदेशिक सहायता प्राप्तिमा उल्लेखनीय प्रभाव पारेका छन् ।

‘यो परिस्थितिलाई विकास साझेदारहरूको प्रतिबद्धतामा आएको ह्रासका रूपमा नभई विश्वव्यापी संकटका अनिवार्य पराकम्पन र पहिल्यै सीमित स्रोतहरूलाई नयाँ प्राथमिकताअनुसार पुनः सन्तुलन मिलाउने आवश्यकताको परिणामका रूपमा बुझिनु उपयुक्त हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव धनिराम शर्माले वैदेशिक सहायतामा सञ्चालित ठूला परियोजना राम्ररी कार्यान्वयन भए प्राप्ति पनि बढ्ने नत्र घट्ने प्रवृत्ति रहेको बताए । ‘एउटा कारण त काम सम्पन्न भएपछि पनि हामीले समयमै शोधभर्नाका लागि अनुरोध गर्न नसकेर पनि हो,’ उनले भने ।

नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले पनि आंशिक रूपमा नेपालको सहायता प्राप्त गर्ने हैसियतमा असर परेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । ‘यसले गर्दा विकास परियोजनाहरूका लागि तुलनात्मक रूपमा कम स्रोत पाइएको हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।

पूर्वअर्थसचिव रामेश्वर खनालले वैदेशिक सहायता प्राप्ति कम हुनुमा नेपालले खर्च गर्न नसक्नु नै मुख्य कारण रहेको बताए । तर, शर्माका अनुसार गत आव २०८१/८२ मा वैदेशिक सहायताको प्राप्तिमा सुधार भएको छ । ‘अघिल्लो आव २०८०/८१ को तुलनामा कति सुधार भयो त्यो हेर्न बाँकी छ तर सुधार भएको छ,’ उनले भने । उनका अनुसार दाताबाट आउने वैदेशिक सहायताको प्रतिबद्धतामा भने कमी आएको छैन ।

आव २०७९/८० मा विश्व बैंक, एशियाली विकास बैंक, जापान, संयुक्त राज्य अमेरिका र भारत पाँच ठूला दाता भए । अधिकांश ठूला दाताले दिएको सहायतामा ऋणको अंश ठूलो छ । उदाहरणका लागि विश्व बैंकले आफ्नो जम्मा सहायताको ९७ दशमलव ३, एशियाली विकास बैंकले ९० दशमलव ८ र जापानले ८४ प्रतिशत ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि अनुदान र सस्तो ऋणको अंश झन् घट्ने पूर्वसचिव खनाल बताउँछन् । ‘समग्र सहायतामा कमी त आउँदैन तर केही महँगो ऋण पाउने अवस्था भने पर्याप्त छ,’ उनले भने ।

उनका अनुसार विश्व बैंक र एशियाली विकास बैंकबाहेक पनि ऋण दिने अन्य संस्थाहरू पर्याप्त रहेकाले विश्व बजारबाट स्रोत खोज्न गाह्रो नहुने उनको तर्क छ ।

1

Scroll to Top