पश्चिम नवलपरासीको बर्दघाटमा प्रस्तावित नेपाल फर्टिलाइजर परियोजना (रसायनिक मल कारखाना) स्थापनाका लागि अनुमानित तीन खर्ब रुपैयाँ लगानी लाग्ने भएको छ । साथै रासायनिक मल कारखाना स्थापनाका लागि जर्मन कम्पनी डिआइएजी इन्डस्ट्रिजले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले उक्त लगानी र कारखानाको सञ्चालनका लागि तीन सय मेगावाट विद्युत् आवश्यक पर्ने देखाएको छ ।
जर्मन कम्पनी डिआइएजीले झन्डै दुई वर्ष लगाएर तयार पारेको डिपिआर अहिले लगानी बोर्ड नेपालले अध्ययन गरिरहेको छ । डिआइएजीले २८ असार ०८० मा मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्ने गरी बोर्डसँग समझदारी गरेको थियो । त्यसपछि जर्मन कम्पनीले नेपालमा डिआइएजी सूर्या ग्रिन फर्टिलाइजर कम्पनी प्रालि स्थापना गरेर मल कारखाना स्थापना गर्ने काम अघि बढाएको छ । कम्पनीले करिब एक महिनाअघि बुझाएको डिपिआर अहिले बोर्डले मूल्यांकन गरिरहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
नेपालमा वार्षिक ६ लाख मेट्रिकटन रासायनिक मल चाहिन्छ । तर, मागअनुसार आपूर्ति हुन सकेको छैन । बर्सेनि किसानले समयमै रासायनिक मल नपाएको अवस्था छ । चालू आवमा रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान दिने गरी बजेट विनियोजन गरिएको छ । यस्तो मल आयात गर्दा बर्सेनि अर्बाैँ रुपैयाँ बाहिरिने गरेको छ । यो अवस्थामा नेपालमै रासायनिक मल उत्पादन गर्न सकेमा किसानसहित अर्थतन्त्रको विकासमा सहयोग पुग्ने प्रवक्ता उपाध्यायको भनाइ छ ।
प्रस्तावित परियोजनाले नेपालको आन्तरिक माग धान्ने मात्रै होइन, निर्यातसमेत गर्न पुग्नेछ । ‘यो एउटै परियोजनाले नेपालको रासायनिक मलको माग पूरै धान्ने छ । साथै, ठुलो मात्रामा निर्यातसमेत गर्न सकिनेछ,’ उनले भने, ‘यो आफैँमा एक ठुलो उद्योग हो । यो स्तरको उद्योग नेपालमा अझै स्थापना भएको छैन । यो स्थापना गर्न सकेमा अर्थतन्त्रमा समेत ठुलो योगदान पुग्ने देखिएको छ ।’


