Banijya News

दुई खर्ब ३१ अर्बले बढ्यो सार्वजनिक ऋण

1
1.1K Shares

सार्वजनिक ऋण एक वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपियाँले वृद्धि भई २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१–८२ को सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड रहेको सार्वजनिक ऋण अन्तमा आउँदा २६ खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ । सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत रहेको छ ।

कार्यालयका अनुसार गत वर्ष थपिएको ऋणको दायित्व एक खर्ब ५२ अर्ब रूपैयाँमात्र हो । बाँकी ७९ अर्ब रुपैयाँ विदेशी मुद्राका तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण थपिएको हो । गत वर्ष उठाएको ऋणको तुलनामा तिरिएको ऋण घटाउँदा एक खर्ब ५१ अर्ब रूपैयाँमात्र बढी छ ।

गत वर्षको बजेटमा सरकारले सार्वजनिक ऋण ५ खर्ब ४७ अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको थियो । एक वर्षभरमा ४ खर्ब ५५ अर्ब ३९ करोड रूपैयाँमात्र ऋण उठाएको छ । यो लक्ष्यको ८३.२५ प्रतिशत हो । सरकारले कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ३ खर्ब ३० अर्ब उठाउने लक्ष्य राखेको थियो । यसमा लक्ष्यबराबरकै ऋण उठाएको छ ।

यस्तै, बजेटमा बाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो । यसमध्ये ५७.७९ प्रतिशतमात्र प्राप्त भएको छ । गत वर्ष एक खर्ब ५२ अर्ब रूपैयाँमात्र बाह्य ऋण प्राप्त भएको हो । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा ७२.४६ र २७.५४ प्रतिशत छ ।

1

Scroll to Top