Banijya News

डलर जोखिमको व्यवस्थापन वाणिज्य बैंकहरुले गर्ने

1
1.1K Shares

विदेशी विनिमय (डलर) जोखिम (हेजिङ) को व्यवस्थापन अब वाणिज्य बैंकहरुले गर्ने भएका छन् । डलरको भाउ घटबढ हुँदा लगानीकर्तालाई हुने संभावित नोक्सानको जिम्मा ‘होजिङ फन्ड’ले लिने प्रचलन छ । हेजिङ गरेपछि विदेशी विनिमय जोखिम बहन बैंकले स्थापना गरेको कोषले नै गर्नेछ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको १०८ नम्बर बुँदामा विदेशी लगानी आकर्षित गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । हेजिङ कारोबारलाई नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुसार लेखा राखिने व्यवस्था छ ।

सरकारले बजेटमा ल्याएको व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयन गर्न लागेको हो । विदेशी लगानी भित्र्याउन हेजिङ गर्ने संस्थाको रुपमा वाणिज्य बैंकले काम गर्ने भएका छन् । हेजिङ फन्ड सञ्चालन गर्ने बैंक तोकिएपछि मुलुकमा विदेशी लगानी बढ्ने बताइएको छ ।

यस्तै सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा विदेशी विनिमय जोखिम व्यवस्थापन गरी वैदेशिक लगानी आकर्षित गर्न हेजिङ्ग सेवा सञ्चालन गर्न अनुमति दिने व्यवस्था मिलाइने भनेको छ ।

हेजिङ नियमावली आए पनि व्यवस्थापन कसले गर्ने भन्ने अनिश्चिता रहेका बेला राष्ट्र बैंकले बैंकमार्फत सञ्चालनको तयारी गरेपछि लामो समयदेखिको अनिश्चिता हट्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० बाटै वैदेशिक लगानीमा हेजिङ सुविधा उपलब्ध गराउने तयारी थालेको थियो ।

मन्त्रालयले २०७९ मंसिरमा बैंकहरुसँग आर्थिक कार्ययोजना मागेको थियो । त्यसबेला नेपाल बैंक र पूर्वाधारमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मात्र कार्ययोजना पेस गरेका थिए । उनीहरुले हेजिङ फन्ड सञ्चालनको प्रस्ताव पेश गरे पनि अर्थ मन्त्रालयलले कार्यान्वयनमा ल्याएन । अहिले राष्ट्र बैंकको जिम्मेबारीमा आएकाले प्रक्रिया अघि बढेको छ ।

के हो हेजिङ’ ?
ठूला परियोजनामा विदेशी ऋण लगानी गर्दा जुन विनिमयदरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो, सोही दरमा सम्झौताबमोजिम लगानी फिर्ता लैजान पाउने गरी विदेशी मुद्राको विनिमयदर स्थिर गर्ने कार्य ‘हेजिङ’ हो ।

1

Scroll to Top