Banijya News

माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा साढे ४५ करोड लगानी गर्दै एनएमबी बैंक

1
1.2K Shares

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ मा निर्माण हुने २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ४५ करोड ५० लाख ऋण लगानी गर्ने भएको छ।

सोमबार आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर र एनएमबी बैंकबीच औपचारिक रूपमा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका अध्यक्ष सरदकुमार दाहालले हस्ताक्षर गरे।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे। यस्तै, कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबी बैंकलाई धन्यवाद ज्ञापन गर्दै माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका लागि उनले स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने वचन समेत दिए।

आयोजनाको कुल लागत लगभग ६५ करोड रुपैयाँ रहेको छ। यसमा ७० प्रतिशत अर्थात् ४५ करोड ५० लाख रुपैयाँ बैंकबाट ऋणमार्फत लगानी हुनेछ भने बाँकी ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनीबाट जुटाइनेछ। कम्पनीले स्वपुँजी संकलनका लागि हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ।

यसअघि मन्दाकिनी हाइड्रोपावरले निर्माण गरेको ४ मेगावाट क्षमताको सार्दी जलविद्युत् आयोजना २०७४ मंसिर २३ गतेदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोन्मेन्टल एण्ड सोसल रिस्क म्यानेजमेन्ट, २०२२ को निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापनका लागि पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।

एनएमबी बैंकले हाल देशभरि २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

1

Scroll to Top