Banijya News

एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन: इप्पान

1
1.1K Shares

लामो समयदेखि विवादित बन्दै आएको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजिन)मा जलविद्युत् व्यवसायीहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्।

धितोपत्र राफसाफको काम गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सञ्चालक समितिले कम्पनीहरूको सेयर सूचीकरण गर्ने सम्बन्धमा दुईवटा आइजिन नम्बर प्रदान गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा लगेको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उक्त प्रस्तावले लगानीकर्तामा अन्योल सिर्जना गर्ने भन्दै धितोपत्र बोर्डलाई गम्भीर ध्यानाकर्षण गराएको हो।

‘सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल र अस्पष्टता पैदा मात्र भएको छैन, यसले उनीहरुमा निराशा पैदा हुने अवस्था सिर्जना भएको छ’, इप्पानले विज्ञप्तिमा उल्लेख गरेको छ।

सीडीएसले गरेको उक्त प्रस्ताव कार्यान्वयन भएमा हालसम्म नेपालको पुँजी बजारमा लागू भइरहेको, प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित आइजीन अभ्यासविपरीतको यो प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घकालीन प्रभावसँगै देशप्रति अन्तर्राष्ट्रियजगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने बताएका हुन्।

निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन, पुँजी निर्माण, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाई हुने विज्ञप्तिमा उल्लेख छ।

यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको बताएका हुन्।

1

Scroll to Top