गत आर्थिक वर्षमा साना उद्योग दर्ता झन्डै ६० प्रतिशतले बढेको छ । अघिल्लो आव २०८०–८१ मा कुल ५ सय १८ साना उद्योग दर्ता भएकोमा गत आव २०८१–८२ मा ८ सय २४ उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ३ सय अर्थात् ५९.०७ प्रतिशतले बढी हो । यही अवधिमा ठूला उद्योग दर्ता भने स्थिर रहेको छ ।
अघिल्लो वर्ष ६ वटा ठूला उद्योग दर्ता भएकोमा गत आवमा पनि ६ वटा नै ठूला उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ । विभागका अनुसार यस अवधिमा मझौला उद्योगको संख्या भने घटेको छ । अघिल्लो वर्ष १५ वटा मझौला उद्योग दर्ता भएकोमा चालु आवमा १० वटामात्र मझौला उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ३३.३४ प्रतिशतले कम हो ।
पछिल्लो समय नेपालमा साना स्तरका वैदेशिक लगानी आकर्षित हुने क्रम तीव्र हुँदै गएको छ । होटल, रेस्टुरेन्ट, आईटी स्टार्टअप, साना उत्पादन इकाइ र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ्दो देखिएको छ । तर, ठूला र मझौला उद्योगमा लगानीको आकर्षण भने घट्दो छ । औद्योगिक क्षेत्रको पूर्वाधार, नीति तथा प्रशासनिक जटिलता र राजनीतिक अस्थिरता जस्ता समस्याले ठूला परियोजनामा लगानीको गति रोकिएको विश्लेषकहरूको भनाइ छ ।
नेपाल सरकारले उद्योगमैत्री नीति ल्याउँदै आए पनि व्यवहारिक कार्यान्वयनको कमीले ठूला विदेशी लगानीकर्तामा विश्वास कायम गर्न नसकेको उद्योगीहरू बताउँछन् । ‘हामीलाई लगानी बोर्डले वर्षौं लगाएर स्वीकृति दिन्छ । त्योबीच सरकार बदलिन्छ, नीति फेरिन्छ, अनि लगानीकर्ताले पछि हट्नुपर्ने अवस्था आउँछ,’ एक उद्योगीले भने । यसको ठीक विपरीत साना लगानी भने तुलनात्मक रूपमा कम झन्झटिलो प्रक्रिया, कम लागत र स्थानीय बजारमै केन्द्रित मोडलका कारण सहज मानिएको छ । होटल, कफी शप, युथ स्टार्टअप तथा डिजिटल मार्केटिङजस्ता क्षेत्रमा विदेशी नागरिक वा उनीहरूका नेपाली साझेदारहरूले मिलेर व्यवसाय सञ्चालन गर्ने क्रम बढिरहेको छ ।


