सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरूको अभौतिकीकरण भएका सेयर दर्ता गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयले ऊर्जा, मिडिया, सिमेन्टलगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दाबी गरेको छ ।
जसअनुसार ऊर्जा क्षेत्रका मात्र ४७ आयोजनाका ५३ अर्ब बराबरका ५३ करोड सेयर प्रभावित हुनुका साथै ४१ अर्ब बराबरको सेयर जारी गर्न आवेदन दिएका ३७ कम्पनीको लगानीमा समेत नकारात्मक असर पर्ने मंगलबार इप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर–आईएसआईएन) नम्बरको व्यवस्था प्रस्ताव गरेको छ ।
यो कदमले विशेषगरी ऊर्जा क्षेत्रमा ठूलो असर पार्ने दाबी ऊर्जा उत्पादकहरूको छ । सरकारले अघि सारेको १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत असम्भव बन्ने इप्पानले जनाएको छ ।
लामो समयदेखि सेयर अभौतिकीकरण प्रक्रिया रोकेर सीडीएससीले अन्ततः सबै कम्पनीको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयर छुट्टाछुट्टै आईएसआईएन नम्बर जारी गर्न धितोपत्रको अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका ०८२ तयार पारेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाएको आरोप इप्पानको छ ।
निर्देशिकाले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र सर्वसाधारण लगानीकर्तामा थप अन्योल र निराशा पैदा भएको इप्पानको दाबी छ । इप्पानले चेतावनी दिँदै भनेको छ, ‘यो प्रस्ताव कार्यान्वयन भएमा प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित आईएसआईएन अभ्यासविपरीत हुने मात्र नभई नेपालको पुँजी बजारमा दीर्घकालीन असर पर्नेछ । यसले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीमार्फत आउने लगानी र प्रत्यक्ष वैदेशिक लगानीमा समेत कठिनाइ सिर्जना गर्नेछ ।’
सीडीएससीको यो निर्णयले निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीप्रति विश्वास गुमाउनुका साथै वैदेशिक लगानीकर्तामा समेत नेपालको लगानी वातावरणबारे गम्भीर आशंका उत्पन्न भएको छ । यसरी संस्थापक र सर्वसाधारण सेयर छुट्याउने व्यवस्थाले विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिनै नसक्ने अवस्था सिर्जना गर्ने र सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति र पुँजी बजारको सुदृढीकरण लक्ष्यलाई नोक्सान पुर्याउने निश्चित रहेको इप्पानको दाबी छ ।


